नेपाल र बंगलादेशको रोमाञ्चक बराबरी

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले रोमाञ्चक बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा नेपाल र बंगलादेशले २-२ गोलको बराबरी खेलेका हुन् ।

ढाकास्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशको लागि हाम्जा चौधरीले दुई गोल गर्दा नेपालको लागि रोहित चन्द र अनन्त तामाङले समान एक/एक गोल गरे । खेलको २९ औं मिनेटमा सुमित श्रेष्ठको पासमा रोहितले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए ।

तर नेपालको अग्रता दोस्रो हाफमा लामो समय टिक्न सकेन । दोस्रो हाफको शुरूवाती चार मिनेटमै हान्जा चौधरीले दुई गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए । ४६ औँ मिनेटमा हाम्जाले सुन्दर ओभरहेड किक गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

लगत्तै नेपालका सुमन श्रेष्ठले बंगलादेशी खेलाडीलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले सिधैं पेनाल्टी दिएका थिए । उक्त अवसरलाई हाम्जाले कुनै गल्ती नगरी गोल गर्दै बंगलादेशलाई २-१ गोलको अग्रता दिलाए । हारतर्फ अग्रसर नेपाललाई इन्जुरी समयमा अनन्तले हेडर गोल गर्दै २-२ गोलको बराबरीमा ल्याउँदै टोलीको हार टारेका हुन् ।

अब नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध छनोट खेल खेल्नेछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *