काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण क्रिकेट प्रतियोगिताको टिकट बिक्री खुल्ला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गरी टिकट खुल्ला गरेको जनाएको हो ।
समर्थकहरूले उद्घाटन खेल हेर्नका लागि सामान्यतर्फ ५०० र प्रिमियमतर्फ १५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै, अन्य दिनमा खेल हुँदा सामान्यतर्फ ५०० र प्रिमियममा एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
यसैगरी प्लेअफ र फाइनलका निम्ति भने सामान्यतर्फ नै एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ । सिजन पासको १५ हजार रुपैयाँ तोकिएको छ ।
क्यानले पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलको लागि टिकट बिक्री खुल्ला गरेको हो । खेल आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा सञ्चालन हुँदैछ।

