काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आफूले कमजोरी गरेको स्वीकार गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा बिहीबार धारणा राख्ने क्रममा महामन्त्री थापाले शेरबहादुर देउवालाई बिदा गर्न नसक्नु आफ्नो कमजोरी रहेको स्वीकार गरेका हुन् ।
उनले जति सकेको गरेको तर, काम गर्न नसकेको बताए । उनले भने, ‘शेरबहादुर देउवालाई बिदा गर्न खोजियो, सकिएन । १० वर्षसम्म नेतृत्व फेर्न भनियो तर सकिएन । बाहिरबाट हेर्दैगर्दा जसलाई फेर्नुपर्छ भनिस् तर त्यहीँ मिसिएर काम गरिस् भनेर ममाथि नै आरोप लाग्यो । मेरा सीमाहरु थिए । मैले जति भत्काउनुपर्ने थियो सकिनँ, नसकेकै हो । ती मेरा कमजोरी रहे ।’
उनले १४औं महाधिवेशनमा दुई पटक सभापतिको उम्मेदवार हुँदा शेखर कोइरालालाई मत दिएको र जिताउने प्रयास गरेको, तर नसकेको बताए ।
उनले भने, ‘शेखर कोइरालालाई मत दिएको मात्र होइन, जिताउन भरमग्दुर प्रयास गरेकै हो । तर म सभापति सभापतिको त्यो जेनेरेसन, राजनीतिक दलको नेतृत्वबाट बिदा हुनुपर्छ भन्ने ठान्थेँ। र त्यसका पछाडि मेरा केही भावनात्मक कुराहरू मात्र होइन, केही मेरा सैद्धान्तिक, आफ्ना मान्यताहरू पनि थिए।’
उनले २०६८ सालदेखि नेताहरुले विश्राम लिनुपर्छ भन्दै बोल्न थालेको बताए । महामन्त्री थापाले निर्वाचनअगाडि गर्ने गठबन्धन, र त्यसमा पनि माओवादीसँग गर्ने गठबन्धनले पार्टीको तलका समर्थकहरूको जुन लोयल्टी पार्टीसँग छ, त्यसलाई समाप्त गर्छ भनेर आफूले भनेको बताए ।
उनले भने, ‘निर्वाचनअघि हुने गठबन्धनले पार्टी समाप्त गर्छ भनेर भनेँ । हामीले हाम्रो पार्टीका मतदाता चिन्दैनौँ । त्यो लोयल्टी छ । तर पार्टीको निर्णय भयो । मैले त्यो कुरा राखेपछि कि निर्णय मान्नु हुँदैनथ्यो । निर्णय गरिसकेपछि निर्वाचनमा नलड्नुपर्ने थियो । त्यो गल्ती गरेकै हो । मैले बहुमतको निर्णय हो भनेर मानेँ, त्यो गल्ती थियो ।’
महामन्त्री थापाले एमालेसँग गठबन्धन हुँदा पदाधिकारीले जानकारी पनि नपाएको बताए । उनले भने, ‘सभापतिको घरमा गएर भनेको हो तपाईंको प्राइभेट कम्पनी हो कांग्रेस ? भनेर सोधेको हो । बाहिरबाट हेर्दा पदाधिकारी बूढानीलकण्ठमा बसेका छन् भन्ने देखियो । पितातूल्य नेताले ‘भयो भाइ’ भनेपछि मानेँ । कुनै पनि हालतमा मान्न हुँदैनथ्यो । भयो भने मैले संसदीय दलको नेता बदल्छु भन्नुपथ्र्यो मान्नु हुँदैनथ्यो, मानेर गल्ती गरेँ ।’
