बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमाथि सर्वोच्च अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश गरेको छ ।
बिहीबार मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको संयुक्त इजलासले सक्कली मिसिल झिकाउने आदेश गरेको हो ।
सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो बुझाएर थुनामुक्त हुन पाऊँ भन्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।
रुपन्देहीले रिहा नगरेपछि उनले भदौ ९ गते उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका थिए । बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।
तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए ।
