काठमाडौं । । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या देशभर उत्साहजनक रहेको पाइएको छ ।
गत असोज ९ गतेदेखि नामावली सङ्कलन सुरु भएको थियो । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ ।
नामावली दर्ता गर्नेको भीड बढेपछि जिल्लामा दुई चरणमा ६/६ घण्टाका दरले सेवा प्रवाह गरिने व्यवस्था मिलाइएको आयोेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
यसका लागि काठमाडौँं उपत्यकाभित्रका तीन जिल्लाका दर्ता केन्द्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ ।
अन्य जिल्लामा भने सेवाग्राहीको चापका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले आवश्यक थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरेको आयोगले जनाएको छ ।










