टोकियो । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको टिप्पणीपछिको घोषणा हो ।
गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एकियो टोयोडासँगको भेटपछि जापानिजहरु नयाँ कार प्लाण्टका लागि अमेरिकामा १० अर्ब डलर खर्च गर्न जाँदैछन् भनेका थिए । बिहीबार जारी गरिएको विज्ञप्तिमा कम्पनीले आगामी पाँच वर्षभित्र अमेरिकामा १० अर्ब अमेरिकी डलरको अतिरिक्त लगानी गर्ने घोषणा गरेको छ । टोयोटाका अनुसार यो नयाँ लगानीले अमेरिकामा टोयोटाको कुल लगानी करिब ६० अर्ब डलरमा पुग्नेछ ।
यो घोषणा विद्युतीय तथा हाइब्रिड सवारी साधनहरूका लागि लिथियम–आयन ब्याट्री उत्पादन गर्ने पहिलो अमेरिकी कारखानाको उद्घाटनसँगै गरिएको हो । नर्थ क्यारोलिनामा स्थापना गरिएको उक्त कारखाना अमेरिकामा टोयोटाको एघारौँ उत्पादन केन्द्र बनेको छ । जसमा करिब १४ अर्ब डलर बराबरको पुँजी लगानी र पाँच हजार १०० नयाँ रोजगारी सिर्जना हुने भन्ने कम्पनीको दाबी छ ।
यसअघि, जापान र संयुक्त राज्य अमेरिकाबीच सवारी साधनमा लाग्ने करको दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत पु-याउने सहमति भएपछि टोकियो सरकारले अमेरिकी अर्थतन्त्रमा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्ने निर्णय गरेको थियो । ट्रम्प प्रशासनले जापानी अटो निर्माताहरूलाई आफ्ना अमेरिकी कारखानामा बनेका सवारी साधनहरू जापानमै निर्यात गर्न प्रोत्साहित गर्दै आएको छ ।
टोयोटाका अनुसार कम्पनीले गत वर्ष अमेरिकामा बिक्री गरेका सवारी साधनमध्ये करिब आधा विदेशबाट आयात गरिएका थिए । तीमध्ये अधिकांश क्यानाडा र मेक्सिकोमा बनेका सवारी साधनहरू थिए भने जापानमा उत्पादन गरिएका करिब दुई लाख एकासी हजार गाडी पनि अमेरिकामा बिक्री भएका थिए ।
यो लगानी योजनाबाट टोयोटाको अमेरिकी बजारमा उपस्थितिलाई अझ सुदृढ बनाउने र विद्युतीय सवारी साधन उत्पादनमा कम्पनीको अग्रणी भूमिका विस्तार गर्ने अपेक्षा गरिएको छ ।
