काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरू हुनेछ ।
अन्तराष्ट्रिय फूटबल क्यालेन्डर अन्तर्गत हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । यसअघि दुई टोलीबीच गत भदौमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
त्यतिबेला दुई मैत्रीपूर्ण खेल हुने भनिएपनि जेन्जी आन्दोलनको कारण एक खेल हुन सकेको थिएन । यसपटक नेपाली टोली अन्तरिम प्रशिक्षक हरि खड्काको प्रशिक्षणमा रहेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि अखिल नेपाल फूटबल संघ(एन्फा)ले अन्तरिम प्रशिक्षकको रुपमा हरि खड्कालाई नियुक्त गरेको थियो ।
आजको खेललाई एएफसी एसियन कप छनोट खेलको तयारीको रुपमापनि लिइएको छ । नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध छनोट खेल खेल्दैछ ।
