सन् २०२५ मा विश्व वाइन उत्पादन सामान्य सुधारतर्फ

पेरिस । गत वर्षको तीव्र मन्दीपछि सन् २०२५ मा विश्वव्यापी वाइन उत्पादन सामान्य सुधारको दिशामा रहेको उद्योगको अन्तर्राष्ट्रिय निकायले बुधबार जानकारी दिएको छ ।

तर, जलवायु परिवर्तन र उपभोक्ताहरूको बदलिँदो उपभोग बानीका कारण उत्पादन हालसालैको औसतभन्दा अझै तल रहिरहने अनुमान गरिएको भाइन र वाइनको अन्तर्राष्ट्रिय सङ्गठन (ओआइभी) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार, यस वर्ष विश्वमा करिब २३ करोड २० लाख हेक्टलिटर वाइन उत्पादन हुने सम्भावना छ । यो सन् २०२४ को तुलनामा तीन प्रतिशतले वृद्धि हो । गत वर्षको उत्पादन सन् १९६१ यताकै सबैभन्दा न्यून वार्षिक स्तरमा पुगेको थियो ।

ओआइभीले विश्वका २९ प्रमुख उत्पादक देशहरूबाट प्राप्त तथ्याङ्कका आधारमा यो मूल्याङ्कन गरेको हो । ती देशहरूले विश्व वाइन उत्पादनको करिब ८५ प्रतिशत हिस्सा ओगट्छन् ।

सन् २०२५ को दृष्टिकोणले ‘जलवायु चुनौती र बदलिँदो उपभोग मोडेलका कारण विश्वव्यापी आपूर्तिमा भइरहेको लगातार कमीको पुष्टि गरेको’ ओआइभीले जनाएको छ ।

विश्व वाइन उत्पादनको ६० प्रतिशत हिस्सा ओगट्ने युरोपेली सङ्घ (इयु) ले अहिले पनि ‘उच्च जलवायु परिवर्तनशीलता’ को सामना गरिरहेको छ । फ्रान्स र स्पेनले यस वर्ष उल्लेखनीय रूपमा कम फसल रेकर्ड गरेका छन् भने इटालीले उत्पादनलाई लगभग सामान्य स्तरमा ल्याउन सफल भएको छ । केही मध्य तथा दक्षिणपूर्वी युरोपेली देशहरूले पनि पछिल्ला वर्षको तुलनामा सुधार देखाएका छन् ।

उत्तरी गोलार्धका अन्य क्षेत्रहरूमा संयुक्त राज्य अमेरिकाले सन् २०२४ को स्तरबाट ‘केवल आंशिक पुनरुत्थान’ हासिल गरेको छ ।

दक्षिणी गोलार्धमा भने दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र ब्राजिलजस्ता देशहरूले मध्यम सुधार देखाएका छन् । यी देशहरूको पुनरुत्थानले चिलीमा भएको उल्लेखनीय गिरावटलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ । चिलीमा गर्मीको असामान्य लहर, न्यून वर्षा र पानीको अभावले उत्पादनमा ठूलो असर पारेको थियो ।

यद्यपि जलवायु परिवर्तनका कारण केही उत्पादक देशहरू गम्भीर रूपमा प्रभावित भए पनि समग्र तस्बिर भने पूर्णतः नकारात्मक छैन । ओआइभीका महानिर्देशक जोन बार्करका अनुसार विश्वव्यापी वाइन आपूर्ति अहिलेको कमजोर मागसँग सन्तुलनमा आउँदैछ । यो उद्योगका लागि दीर्घकालीन रूपमा सकारात्मक सङ्केत हो ।

“हामीले यो कहिल्यै बिर्सनु हुँदैन कि ती जलवायु प्रभावहरूबाट व्यक्तिहरू र क्षेत्रहरू प्रत्यक्ष प्रभावित छन्”, बार्करले भने, “तर जब हामीले विश्वव्यापी आपूर्ति र मागको अवस्थालाई समग्र दृष्टिकोणबाट हेर्ने हो भने यो सन्तुलित र सकारात्मक तस्बिर हो—जसले वाइनको निर्यात मूल्य निर्धारणलाई थप मजबुत बनाइरहेको छ ।”

ओआइभीको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा विश्वव्यापी वाइन खपत लगातार घट्दै गएको छ र गत वर्ष यो खपत छ दशकपछि पहिलो पटक सबैभन्दा न्यून स्तरमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *