काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा जेनजी समूहद्वारा आयोजित आन्दोलनका क्रममा भएका केही घटनालाई आधार बनाई केही अराजक तत्त्वहरूले बौद्ध गोन्पा तथा विहारहरूविरुद्ध तथ्यहीन, कपोलकल्पित र अतिरञ्जित अन्तरवार्ता तथा अभिव्यक्ति दिइरहेका भन्दै नेपाल बौद्ध महासंघले चासो प्रकट गरेको छ ।
यसै सन्दर्भमा नेपाल बौद्ध महासंघले आदिवासी जनजाति महासंघ, देशभरका बौद्ध संघ संस्था, धार्मिक अगुवा, बुद्ध धर्मावलम्बी, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीहरूबीच साझा धारणा निर्माण र धार्मिक सौहार्द कायम राख्ने उद्देश्यले बुधबार छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सहभागी बौद्ध संघ संस्थाका प्रतिनिधिहरूले हाल सामाजिक सञ्जालमार्फत फैलाइएका असत्य र भ्रामक सामग्रीहरूले धार्मिक सद्भावमा नकारात्मक असर पार्ने खतरा देखिएकाले सत्य तथ्य उजागर गर्न र सहिष्णुता प्रवद्र्धन गर्न यस्तो पहल अपरिहार्य रहेको बताएका छन् ।
नेपाल बौद्ध महासंघले सबै पक्षलाई संयमित रही नेपालमा रहेका धार्मिक समुदायबीच आपसी सम्मान र सौहार्द कायम राख्न आग्रह गरेको छ । साथै महासंघले गोन्पा तथा बौद्ध धर्मावलम्बीहरू विरुद्ध अराजक अभिव्यक्ति दिनेहरूले सार्वजनिक रूपमा गल्ती स्वीकार नगरेसम्म सम्बन्धित निकायहरू गृह मन्त्रालय, सञ्चार मन्त्रालय, प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघमा ज्ञापन पत्र बुझाउने तथा पत्रकार सम्मेलनमार्फत ध्यानाकर्षण गराउने तयारी गरेको जनाएको छ ।
यसअघि महासंघले बौद्ध गोन्पा तथा विहारहरूविरुद्ध तथ्यहीन, कपोलकल्पित र अतिरञ्जित अन्तरवार्ता तथा अभिव्यक्तिको विरोधमा प्रेस विज्ञप्ति जारी गरिसकेको छ भने गत कार्तिक २४ गते साइबर ब्युरोमा उजुरी समेत दर्ता गरेको जनाएको छ ।









