ओलीलाई प्रचण्डको जवाफः जेनजीले शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भन्ने ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्नकै लागि मात्र वामपन्थीबीचको एकता नभएको स्पष्ट पारेका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्र बचाउनका लागि एकता गरिएको बताएका हुन् ।

उनले राष्ट्र अहिले संकटमा रहेकाले राष्ट्र बचाउन एकता गरिएको बताए । उनले भने ‘यो एकता कुनै चुनावव जित्नका लागि गरिएको रणनीतिक एकता होइन । त्यसरी नबुझिदिनुहोला । राष्ट्र बचाउनका लागि एकता भएको हो । यो एकता दीर्घकालीन रणनीति र कम्युनिस्ट एकतालाई टिकाइराख्ने उद्देश्यले भएको हो ।’

उनले जेनजी आन्दोलनले आफैँलाई बदल्न धक्का दिएकै कारणले एकता प्रक्रिया चाँडो भएको बताए । उनले अघिल्लो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता केपी ओलीको अहङ्कार र दम्भले विघटन भएको आरोप लगाए । प्रचण्डले एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाए ।

जेनजी युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्दा हत्या गर्नेले आफूलाई वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाएका हुन् । ओलीले सोमबार एक कार्यक्रममा बोल्दै नेकपालाई वृद्धाश्रमको सज्ञा दिएका थिए । प्रचण्डले भने, ‘जेनजी युवाहरू भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्दैछन्।’

उनले नेकपा एमालेले मदन भण्डारी र उनको परिवारलाई अपहेलित गरेको आरोप लगाए । उनले भने, ‘जनताको बहुुदलीय जनवाद भनेर कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन अगाडि बढेका मदन भण्डारी अब एमालेबाट अपहेलित हुनु भएको छ । अहिलेको एमालेले मदन भण्डारी र उहाँको परिवारलाई अपमान गर्ने र त्यसलाई बदनाम गर्ने कोसिस भएको छ। ओलीले मदनलाई सहकारी ठगी, चार वटा श्रीमती ल्याएको भनेर आरोप लगाइरहनुभएको छ । यो भन्दा ठूलो अपमान के हुन्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *