नेपालमा एउटा विश्वासिलो र बलियो मध्य दक्षिणपन्थी पार्टी अत्यावश्यक छ

-रविन्द्र मिश्र ।

नेपाल मूलतः मध्य दक्षिणपन्थी (Centre Right) समाज हो । तर यसमा हामीले मूलतः अतिवामपन्थी (Far Left) र मध्य वामपन्थी (Centre Left) विचार लादिदियौँ । ‘अति’ हुँदै ‘मध्य’ मा आइपुगेका प्रचण्ड गत ३० वर्षदेखि वामपन्थी राजनीतिको केन्द्रमा छन् । उनले पुरानादेखि नयाँसम्म सबै राजनीतिक दल र नागरिक समाजलाई ‘प्रचण्डपन्थी’ बनाइदिए। ती सबै प्रचण्डपन्थीहरू प्रचण्डलाई गाली गर्न चाहिँ छोड्दैनन्। उनीहरू सबै ‘प्रचण्डभन्दा महान् परिवर्तनकारी हामी हौँ’ भनेर पुष्टि गर्न सङ्घर्षरत छन् । हरेक समाज र राजनीतिलाई शन्तुलनमा राख्न त्यहाँ मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दुबै धार बलियो हुनुपर्छ।

दुःखको कुरा नेपालमा–समाज मध्य दक्षिणपन्थी छ तर देशमा एउटा पनि विश्वासिलो र बलियो मध्य दक्षिणपन्थी पार्टी छैन। त्यसैकारण नेपाली समाज अन्यौल र विरोधाभासग्रस्त छ। पैँतीस वर्षे राप्रपालाई आजको सबैभन्दा ठूलो चुनौती ‘त्यो विश्वासिलो र बलियो मध्य दक्षिणपन्थी पार्टी हामी नै हौँ’ भनेर प्रमाणित गर्नु हो। । किनभने, नेपाली समाज र राजनीतिलाई शन्तुलनमा ल्याउन नेपालमा एउटा विश्वासिलो र बलियो मध्य दक्षिणपन्थी पार्टीको निर्माण अत्यावश्यक छ, जसमा हामी आफूलाई मध्य दक्षिणपन्थी भन्नेहरू विफल रहँदै आएका छौँ । सफलताको एकमात्र सूत्र हाम्रो ‘आदर्श र कर्मबीचको विरोधाभास’को न्यूनिकरण हो। ‘व्यक्ति जित्ने पार्टी र देश हार्ने’ राजनीतिको अन्त्य हो। सारांशमा –इमान्दारी, इमान्दारी, इमान्दारी हो ।

यदि जनताले फटाह–फटाहहरूमध्येबाटै चयन गर्नुपर्ने हो भने, ‘बलियो फटाह’ नै चयन गर्छन्, जहाँबाट उनीहरूलाई कुनै न कुनै किसिमको लाभ हुन्छ। कमजोर फटाह किन चयन गर्ने ? आजको अहम् प्रश्नः देश बचाउन र बनाउन ‘पृथ्वीपथ’ लाई अङ्गाल्ने र जनताले विश्वास गर्न सक्ने मध्य दक्षिणपन्थी पार्टी कसरी बनाउने भन्ने हो। व्यक्तिगत अहम् र स्वार्थभन्दा माथि उठेर सबैले त्यसमा गम्भीर चिन्तन गर्न आवश्यक छ । अन्यथा, विश्वासिलो र बलियो मध्य दक्षिणपन्थी पार्टीको अभावमा समाज, राजनीति र देशलाई ‘विकृत र विषाक्त वामवादले’ गाँजेर अस्तित्वको संकट सृजना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *