धनगढीको उत्तरबेहडीबाट करिव एक करोड रुपैयाँबराबरको मोवाइल पार्ट्ससहित दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी इलाकाबाट सशस्त्र प्रहरीले ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोवाइल पार्ट्ससहित  दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका–१९ खेदा बस्ने ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका संचालक भारत घर बताउने २५ वर्षीय आसुतोष कुमार गुप्तालाई पक्राउ गरेको हो ।

चौधरीले सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोवाईलका पार्ट्ससहित उनलाई सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका चौधरीले भारतबाट अवैध रुपले ल्याएको मोवाइलका पाट्र्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बताएका थिए ।

त्यस पश्चात प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरको मोवाइल पार्ट्ससहित  सप्लायर्सका संचालक आसुतोष कुमार गुप्तालाई समेत नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *