-राजुप्रसाद चापागाईँ ।
सोलोडोलो संविधानलाई खराब देखाउनु, सबै समस्याको कारकको रूपमा प्रस्तुत गर्नु भनेको विगतमा संविधानमाथि भएको बलमिच्याईँ, संविधानका प्रवन्धहरूको दुरुपयोग र संविधानको अपव्याख्यालाई आँखा चिम्लेर Whitewash गर्नु हो । त्यस्तो भाष्यले अन्ततः संविधानको चरम उल्लङ्घनका जिम्मेवारहरू नै जवाफदेही हुन नपर्ने परिस्थिति निर्माण गर्छ।
जुनसुकै लोकतान्त्रिक समाजमा एउटा moral authority को रूपमा स्थापित, संविधानको सपथ खाएर उच्च संवैधानिक र न्यायिक जिम्मेवारी वहन गरेका, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा पत्याइएका व्यक्तिहरूबाट संविधान र राजनीतिक प्रणालीबारे सम्यक् र सन्तुलित दृष्टिकोण र विचार अपेक्षित हुन्छ । किनकी उनीहरूको विचारलाई मानक ठानेर बाँकीले के कुरा ठीक र के बेठीक भन्ने निर्धारण गर्न खोज्छन्।
विभिन्न आग्रह–पूर्वाग्रहवस ‘संविधान मरिसक्यो, कोमामा छ, अब यसको काम छैन, फ्याँकिदिए हुन्छ, यसलाई बोकेर हिँड्न जरुरी छैन, सबै समस्याको जड यही हो’ जस्ता अभिव्यक्ति राख्नेहरूको एउटा ठूलो भिड सृजना नभएको होइन ।
तर प्रधानन्यायाधीश भइसकेका र मानवअधिकारसम्बन्धी विभिन्न मुद्दामा उदार संवैधानिक व्याख्या गरेबापत राष्ट्रिय–अन्तर्राष्ट्रिय ख्याति प्राप्त कल्याण श्रेष्ठ श्रीमान जस्तो व्यक्तिलाई समेत कता कता त्यही भीडको बीचमा उभिएको जस्तो देख्नु पर्दा निकै असहज अनुभूति हुने रहेछ ।
संविधानबारे अहिले सार्थक छलफल, बहस र संवाद जरुरी छ । कति समस्या संविधानको इमान्दार कार्यान्वयन नहुँदा उत्पन्न भएका हुन्, कति समस्या संविधानका प्रवन्धमा रहेका खोटका कारण सृजित भएका हुन्—त्यसको स्वतन्त्र लेखाजोखा जरुरी छ, त्यसमा कुनै विवाद छैन । त्यसका लागि अहिलेको सरकारले पनि कुनै संयन्त्र बनाएर पहल थाल्दा हुने हो। तर संविधानबारेका छरपस्ट, मनलागी र अराजक बहसले हामी सही गन्तव्यमा पुग्ने छैनौं—त्यति कुरा भने स्पष्ट छ ।
