सामाजिक सञ्जालमा धार्मिक द्वेष फैलाउनेलाई कारबाही गर्न माग गर्दै नेपाल बौद्ध महासंघद्वारा साइबर ब्यूरोमा उजुरी

काठमाडौँ । नेपाल बौद्ध महासंघले सामाजिक सञ्जालमा बौद्ध धर्म, गोन्पा (गुम्बा) तथा विहारहरूबिरुद्ध भ्रमपूर्ण र धार्मिक द्वेष फैलाउने सामग्री सार्वजनिक भइरहेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ । महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा), उपाध्यक्ष लोपोन ग्युर्मे सोनाम तामाङ (कर्मा दुइसुम) र कार्यालय प्रमुख आचार्य सार्की शेर्पाको उपस्थितिमा सोमबार उजुरी दर्ता गरिएको महासंघले जनाएको छ ।

उजुरीमा गत भदौ २३ र २४ गते भएका जेनजी समुदायका आन्दोलनसँग सम्बन्धित केही घटनालाई जोड्दै अराजक तत्वहरूले बौद्ध गोन्पा र विहारहरूलाई निशाना बनाई तथ्यहीन, कपोलकल्पित र भ्रामक अभिव्यक्ति प्रसारण गरिरहेका उल्लेख छ । ती व्यक्तिहरूले युट्युब, फेसबुक लगायतका माध्यमबाट ‘गोन्पा विदेशी राष्ट्रहरूको अखडा बनेका छन्’ र ‘त्यहाँ हतियार लुकाइएको छ’ भन्नेजस्ता निराधार आरोप लगाउँदै बौद्ध समुदायको मानमर्दन गरेको उजुरीमा उल्लेख गरिएको छ ।

नेपाल बौद्ध महासंघले बौद्ध गोन्पा र विहारहरूलाई शील, समाधि र प्रज्ञाका उपदेशहरूको अध्ययन, अध्यापन र अभ्यासका शान्तिपूर्ण केन्द्रका रूपमा परिभाषित गर्दै, यी संस्थानहरूले कहिल्यै पनि कुनै राष्ट्र वा समुदायविरुद्ध द्वेष वा हिंसात्मक गतिविधि नगरेको स्पष्ट पारेको छ ।

महासंघले साइबर ब्यूरोलाई भ्रमपूर्ण सामग्री सार्वजनिक गर्ने व्यक्तिहरूमाथि सत्यतथ्य छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । साथै, आगामी दिनमा सामाजिक सञ्जाल वा डिजिटल माध्यम प्रयोग गरी धार्मिक वा सांस्कृतिक विभेद फैलाउने र मिथ्या सूचना प्रसारण गर्ने गतिविधिमा कानूनी निगरानी र नियन्त्रण प्रणाली बलियो बनाउन पनि अनुरोध गरिएको छ ।

महासंघका अनुसार, उजुरीसँगै विभिन्न युट्युब च्यानलमा प्रकाशित भ्रामक अभिव्यक्तिहरूको लिप्यन्तरण गरिएको पाँच पृष्ठ लामो विवरण र ती सामग्रीका भिडियो प्रमाणहरू पनि साइबर ब्यूरोलाई बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *