एजेन्सी । फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-२ गोलले पराजित गरेको हो ।
इस्टाडियो अबान्का-बालाइडोसमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा लामिने यामालले एक गोल थपे । सेल्टाको लागि सेर्जियो कारेरा र बोर्जा इग्लेसिसले समान एक/एक गोल गरे । खेलको दसौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए । एक मिनेटपछि सेर्जियोले गोल फर्काउँदै सेल्टालाई १-१ गोलको बराबरीमा ल्याए ।
३७ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए । ४३ औँ मिनेटमा बोर्जाले गोल गर्दै घरेलु टोलीलाई फेरी २-२ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा लामिने यामालले गोल गर्दै बार्सिलोनालाई ३-२ गोलको अग्रता दिलाए ।
७२ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोल गर्दै बार्सिलोनालाई ४-२ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ४-२ गोलले विजयी भएको हो ।
जितसँगै बार्सिलोना १२ खेलबाट २८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट १३ अंक जोडेको सेल्टा १३ औं स्थानमा रहेको छ ।
गएरातिनै भएको अर्को खेलमा म्याड्रिडले रायो भल्लेकानोसँग गोलरहित बराबरी खेलेको हो ।
बराबरीसँगै म्याड्रिड १२ खेलबाट ३१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।
