केन्द्रीय समिति बैठक सार्ने अध्यक्ष लिङ्देनको निर्णयले पार्टीको विवाद छताछुल्ल

काठमाडौं । राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको छ । विशेषतः विधान विपरीतका कारबाही, महाधिवेशनको मिति, जिल्ला पर्यवेक्षकहरुमा सन्तुलन, निर्वाचन समितिमा सन्तुलन, सचिवालयमा सन्तुलनको विषयलाई लिएर इतर पक्षका नेता धवलशमशेर राणा पूर्ण असन्तुष्ट छन् ।

राप्रपाका अध्यक्ष लिङ्देन आन्दोलनप्रति इमान्दार नभएको र विगतका आन्दोलन तुहाउन समेत सक्रिय रहेको भन्दै सार्वजनिक रुपमै राणाले लिङ्देनको आलोचना गर्दै आएका छन् । महामन्त्री राणाले यही विषयलाई लिएर आफ्ना समूहका केन्द्रीय सदस्य र देशव्यापी रुपमा कार्यकर्तासँग छलफल चलाउँदै आएका थिए ।

राप्रपाले करिव एक महिना अघिनै कार्तिक २७ र २८ मा केन्द्रीय समितिको बैठक तय गरेको थियो । यो केन्द्रीय समितिको बैठकलाई आफूले नजिकबाट नियालिरहेको र यसले कार्यकर्ता तथा दिर्घकालिन पार्टी हितमा बहस गर्ने केन्द्रीय समिति सदस्य धनसुर शाही बताउँछन् ।

तर अध्यक्षले हठात केन्द्रीय समिति बैठक सारेर पार्टीभित्र निराशा उत्पन्न गराएको उनी बताउँछन् ।
महामन्त्री राणा समूहले केन्द्रीय समितिको एकदिन अगाडि २६ गते आफ्ना समूहको बैठक तय गरिसकेको थियो र यो केन्द्रीय समितिबाट जसरी पनि विधान विपरीतका कारबाही र अन्य तहमा सन्तुलन ल्याउने रणनीतिमा थियोे ।

संस्थापन इतर समूहलाई यसपटक पेल्न नसक्ने निर्णयमा पुगेका लिङ्देनले रणनीतिक रुपमा पूर्वअध्यक्ष पशुपतिशमशेर जवरा र प्रकाशचन्द्र लोहनीसँगको बैठकपछि केन्द्रीय समिति मंसिर २४ र २५ को लागि सारेका छन् ।

दुवै पूर्वअध्यक्षलाई उनले आफू पार्टीमा देखिएका सबै समस्या मिलाएर लान तयार रहेको जनाएपछि आन्तरिक व्यवस्थापनको लागि केही समय बैठक सारिएको अध्यक्षका स्वकीय सचिव छत्र खडायतले आफ्नो सामाजिक संजालमा जनाएका छन् ।

बैठक सारिएको विषयमा प्रवक्ता ज्ञानेन्द्र शाहीले कडा आपत्ति जनाएका छन्

उनलाई समाजिक संजालबाटै अध्यक्ष लिङ्देनले जवाफ फर्काएका छन् ।

राप्रपामा भित्र भित्र भुसको आागो जस्तै रहेको विवाद बाहिर छताछुल्ल भएको छ । तल्लो तहका कार्यकर्ताहरु यही २७ र २८ गते हुन लागेको केन्द्रीय समितिको बैठकले निकास निकाल्ला र पार्टीमा नयाँ उत्साह आउला भनेर आशावादी थिए तर विनाकारण बैठक सार्दा कार्यकर्तामा निराशा छाएको केन्द्रीय सदस्य शाही बताउँछन् ।

पटकपटक टुटफुट बेहोर्दै आएको राप्रपाको यसपटकको विवाद पनि उत्कर्षमा पुगेको थियो । यसपटक संस्थापन पक्षलाई इतर पक्षले आफ्नो पार्टी भित्रको पहुँच देखाएको राप्रपा वृत्तमा चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *