काठमाडौं । प्रहरीले नेपाल ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो(सीआईबी)ले कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरेको हो ।
नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीचमा लिजमा दिने सम्झौताको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । संचालक समितिको निर्णय र आधार विना वदनियतपूर्वक नेपाल ट्रष्टको नाममा रहेको जग्गा ३० वर्षको लागि लिजमा दिने/लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दिर्घकालिन हानी नोक्सानी भएकाले प्रहरीले अनुन्धान थालेको थियो ।
यस कार्यबाट नेपाल ट्रष्टमार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुगी विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको भन्ने ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा कार्कीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

