जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्नेमाथि कारबाही गर्न महासंघ अध्यक्ष ढकालको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुराउने प्रयत्नमा रहेको बताएका छन् ।

शनिबार नेपाल वाणिज्य तथा उद्योग महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा अध्यक्ष ढकालले विगतको तुलनामा जेनजी आन्दोलनले निजी क्षेत्रमा बढी नै क्षति पुगेको बताएका हुन् ।

उनले भने, ‘जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुराउउने प्रयत्न गरिरहेको छ । विगतको तुलनामा यस पटकको आन्दोलनले निजी क्षेत्रमा बढी नै क्षति पुगेको छ ।’

लगानीका लागि सापटी मागेर निजी क्षेत्रले जसोतसो भएपनि लगानी गरिरहेको भन्दै उनले जेनजी आन्दोलनले आफैंले आफैंलाई फर्केर हेर्न बाध्य बनाएको बताए ।

उनले निजी क्षेत्रमा पटक पटक प्रहार हुँदा पनि दरिलो र जिम्मेवार बनेको भन्दै निजी क्षेत्रले पनि आफ्नो समीक्षा गरिरहेको बताए ।

नाफा कमाउने कार्यलाई अपराधको रूपमा चित्रण गर्नु गलत भएको भन्दै अध्यक्ष ढकालले त्यसलाई अपराध मान्नु गलत हुने बताए ।

उनले भने, ‘निजी क्षेत्रको उद्देश्य भनेको सेवा दिएर नाफा कमाउनु हो । तर यसको फरक बुझाइका कारण बारम्बार निजी क्षेत्रमा प्रहार हुने गरेको छ । तर पनि निजी क्षेत्र दरिलो र जिम्मेवार छ । हामी समीक्षा गर्दैछौं कहाँ चुक्यौ भनेर । नाफा आर्जन गर्नु नै अपराधको रूपमा चित्रित हुँदै आएको छ । के रोजगारी सिर्जना गर्नु, राजस्व बुझाउनु र राज्यका लागि महत्वपूर्ण काम होइन र?’

उनले जेनजी आन्दोलनका बेला आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरे ।

उनले भने, ‘जेनजी आन्दोलनमा लुटपाट, आगजनी गर्नेलाई सरकारले कारबाही गरेर अगाडि बढ्न आवश्यक छ । निजी क्षेत्रको भावनालाई सरकारले बुझेको छ भन्ने आशा लिएका छौं । यदि यस्ता कार्यमा संलग्नमाथि कानूनी कारबाही भएन भने दण्डहीनता मौलाउनेछ। कुनै पनि नाममा यसलाई प्रश्रय दिनु हुँदैन ।’

अध्यक्ष ढकालले लुटपाट, आगजनीमा संलग्नलाई कारबाही गरी यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको मनोबल बढाएर काम गर्नु आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *