पारिवारिक कथामा चलचित्र ‘हर्ष’

काठमाडौँ । पारिवारिक कथामा आधारित नेपाली चलचित्र ‘हर्ष’ निर्माण गरिएको छ । आगामी मङ्सिर १२ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगै निर्देशक एकता पौडेलले भावना, सम्बन्ध र परिवारको विषयमा चलचित्र तयार गरेको बताइन् ।

उनले भनिन्,“मैले चलचित्रसम्बन्धी अध्यन गरेर पहिलोपटक निर्देशन गरेकी छु । एउटा सुखद परिवारमा बुवा र छोराबीचको सम्बन्धलाई यसमा देखाउने प्रयास गरेकी छु ।” उनले आफूले पाएको अवसरलाई पूर्णरुपमा सदुपयोग गरेको बताइन् । स्वर्गीय निर्देशक शिव रेग्मीको भाञ्जीको नाता सम्बन्धमा रहेकी पौडेलले आफ्नो मामाका नामका कारण पहिलो पटकको निर्देशनका क्रममा सबैबाट साथ सहयोग पाएको बताइन् ।

अभिनेता सन्तोष पन्तले आफ्नो कलाकारिता यात्रामा पहिलोपटक महिला निर्देशकसँग काम गरेको अनुभव सुनाउँदै भने, “मैले धेरै चलचित्रमा काम गरेँ, तर यसमा भने महिला निर्देशकको निर्देशनमा । अध्ययन गरेर कर्म गर्न आउनु भएकी निर्देशक पौडेलले धेरै मेहनत गर्नुभएको छ । चलचित्र पारिवारिक भएकाले पनि महिला निर्देशकले राम्रो काम गर्नुभएको जस्तो लागेको छ । पछिल्लो अवस्थामा भने चलचित्रलाई सफल बनाउन बजारीकरण गर्न सक्नुपर्छ ।”

दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गर्ने तथ्यमा ध्यान पुर्याउन निर्देशक पौडेलसहित निर्माण समूहलाई आग्रह गरे ।

यसैगरी अभिनेत्री वर्षा राउत नयाँ समूहसँग काम गर्दा बेग्लै आनन्द भएको बताउँछिन् । “निकै रमाइलोसँग चलचित्रमा हामी कलाकारले काम गर्यौं । मेरा लागि अग्रज कलाकारको सामीप्यतामा काम गर्नपाउनु एउटा अवसर थियो । पारिवारिक कथामा चलचित्र बनेको छ, स–परिवार हेर्न आउँदा व्यक्त गर्न नसकिरहेको तथ्यलाई चलचित्रले व्यक्त गर्छ जस्तो लागेको छ”, उनले भनिन् ।

चलचित्रमा एक परिवारमा छोराको विवाहपछि वंशअगाडि बढाउने विषयमा बाउछोराकाबीच हुने उतारचढावलाई देखाइएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, नीर शाह, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, नीमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जनलगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *