अहंकारीको सत्ता ढालेकोमा म जेनजीलाई सलाम गर्दछुः महासचिव विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजीले अहंकारी दलालहरूको सत्ता र संसदलाई खरानी बनाइदिएको बताएका छन् ।

बिहीबार पार्टीले काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले दुई दिनको जेनजी आन्दोलनले अहंकारी दलालहरूको सत्ता र संसदलाई खरानी बनाइदिएको बताएका हुन् ।

उनले जेनजी आन्दोलनमा बलिदान गर्ने युवाहरूले कहिल्यै बिर्सन नसक्ने गुण लगाएर गएको बताए । उनले भने, ‘जेनजीलाई विशेष धन्यवाद दिनुपर्छ । म सलाम गर्दछु । राज्यसत्ता अन्धो थियो । बहिरो थियो । निरंकुश थियो । मुर्ख बन्दै गएको थियो । जनताविरुद्ध तानाशाही बन्दै गएको थियो । जेनजीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी दलालहरूको सत्ता र संसदलाई खरानी बनाइदिए ।’

उनले राज्यसत्ताले मनपरी गरेपछि जेनजी आन्दोलनबाट विष्फोट भएको बताए । विप्लवले जेनजी विद्रोह असफलतातिर जाने संकेत देखिएको भन्दै अधुरो कामलाई पूरा गर्नुपर्ने बताए ।

उनले भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरूले आवाज उठाउँदा तत्कालीन केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाएको बताए ।

उनले भने, ‘सत्ताको सुविधाका लागि जुनसुकै काम गर्न थाले । संविधानलाई पूर्णता दिन हामीले नै पहिला लड्यौँ । जनजाति, मधेसी, महिलालाई हक अधिकार दिन हामीले लड्यौँ । न्यायको आवाज उठाएको बदलामा कम्युनिस्ट सरकार र पार्टीहरूले हामीमाथि दुई वर्ष प्रतिबन्ध लगायो ।’

उनले अब संसदीय व्यवस्था असफल प्रमाणि भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *