काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले .आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुईजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार तत्कालीन कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खनन्का लागि स्वामिनारायण निर्माण सेवा प्रालि, धरानसँग ९ करोड ५१ लाख ५१ हजार ५१ (भ्याटबाहेक) मा ठेक्का सम्झौता गरेकोमा कम्पनीले १ करोड २३ लाख ६९ हजार ६४९ भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा अधिकृत र ठेकेदारसँग मिलेमतोमा उक्त रकम अनियमितता गरेको अख्तियारको भनाइ छ ।
तत्कालीन कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतलाई जनही १ करोड २३ लाख ६९ हजार ६४९ कायम गरी सोही बिगोबराबर जरिवाना र कैद सजायको मागदाबीसहित मुद्दा दायर गरिएको हो ।


