विद्यालयमा आगलागी हुँदा दुई करोड भन्दाबढीको क्षति

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगलागीबाट करोड बढीका संरचना जलेका छन्। अदानचुली-३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाको झ्यालबाट आगलागी सुरु भएको थियो।

अगलागीबाट विद्यालयको दुईतले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। विद्यालयको मुख्य प्रवेशद्वारसहित कक्षा कोठा तथा माथिल्लो तलामा रहेको कार्यालय कोठासमेत जलेर नष्ट भएको विद्यालयका शिक्षक नन्द फडेराले बताए। उनका अनुसार कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका छन्।

कार्यालय कोठामा भएका सोलार एक थान, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, चार थान दराज, २० थान कुर्ची, तीन थान मादल, हार्मोनियम, क्यासियो, ड्रमसेट, २०५२ साल देखिका कागजात र दस्तावेजलगायत कक्षा कोठाका डेस्कबेञ्च, प्रिन्टरलगायत सामग्री जलेर नष्ट भएका शिक्षक फडेराले बताए।

उनका अनुसार भौतिक संरचनासहित रु दुई बरोड बराबरको सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ। विद्यालय नजिक बस्ती तथा आगो बाल्ने घरसमेत नरहेकाले अज्ञात समूहले नियोजित रूपमा आगालागी गरेको हुनसक्ने आशंका गरिएको शिक्षक जमानसिंह परियारले बताए।

आगालागी भएको समयमा कार्यालय कोठाको ढोका खुल्ला रहेको पाइएको उनको भनाइ छ। उनका अनुसार विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *