-नारायण गाउँले ।
झट्ट सुन्दा जम्मा मेयर त हो जस्तो लाग्छ । तर विश्वका सयौँ देशभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकी महानगर न्युयोर्क सिटीको मेयर हुनु चानचुने कुरो होइन । डोनाल्ड ट्रम्पले खुलेरै सारा शक्ति प्रयोग गरे पनि न्युयोर्कले जोहरान ममदानीलाई मेयरको रूपमा छान्यो । विश्वकै सबैभन्दा सम्पन्न महानगरको मेयरमा निर्वाचित ममदानी अमेरिकाबाहिर अफ्रिकामा जन्मिएका हुन् र पहिलो मुश्लिम मेयर हुन् । गत सय वर्षमा उनी सबैभन्दा कम उमेरका मेयर पनि हुन् । यसअघिका प्रायः सबै चुनावी आँकलनले उनलाई बलियो देखाएकाले यो सरप्राइज विजय भने रहेन ।आन्तरिक लोकतन्त्र बलियो भएपछि सिङ्गो सङ्घीय सरकार र राष्ट्रपति नै विपक्षमा भए पनि उनी निर्वाचित हुन सके । उनी मुश्लिम हुन् र विदेशमा जन्मिएका हुन् भन्ने कुराले उनको क्षमता र घोषणापत्रलाई रोकेन । निर्वाचित भएलगत्तै उनले विश्वकै शक्तिशाली आफ्नै राष्ट्रपतिलाई कटाक्ष गर्दै भने ‘मलाई थाहा छ, तपाईं यो खबर हेरिरहनुभएको छ । मसँग तपाईंका लागि जम्मा चार शब्द छन्, ‘समाचारको आवाज बढाउनु होस् (turn the volume up!) ‘
राष्ट्रपतिलाई च्यालेन्ज गर्ने यस्तो शक्ति पनि लोकतन्त्रले नै दिने हो । लोकतन्त्र नभएको भए क्रिश्चियन देश भनेर चिनाउन चाहने हालको अमेरिकाका राष्ट्रपतिलाई भारतीय मूलको एउटा मुश्लिम युवा नेताले यसरी च्यालेन्ज गर्ने वातावरण हुँदैनथ्यो । लोकतन्त्र नभएका कति मुलुकमा यस्तो दृश्य देखिएला ? हाम्रा मेयर बालेनले तत्कालीन प्रधानमन्त्री ओलीलाई गरेका कडा र कतिपय अभद्र टिप्पणी पनि लोकतन्त्रकै कारण सम्भव भएको हो । उनी कांग्रेस र एमालेजस्ता ठूला दललाई हराएर मेयर बनेको नै लोकतन्त्रले गर्दा हो । व्यक्ति शक्तिशाली देखिए पनि शक्ति भनेको लोकप्रियता या लोकसम्मति नै हो । शक्तिको स्रोत पछाडि बसेर समर्थन गर्ने आममान्छे नै हुन् । यस्तो शक्तिको दुरुपयोग भए रोक्ने या फिर्ता लिने पनि जनताले नै हो । यसैले लोकतन्त्रलाई विश्वको उत्कृष्ट व्यवस्था मानिएको हो ।
ग्रेटर न्युयोर्कको जनसङ्ख्या दुई करोड जति छ । जिडीपी नै दुई ट्रिलियन डलरभन्दा बढी छ । साउथ कोरियादेखि अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश साउथ अफ्रिकाभन्दा न्युयोर्कको जिडीपी धेरै छ । तर ममदानी निर्वाचित भएको क्षेत्रचाहिँ त्यसभित्रको मुख्य न्युयोर्क सिटी हो, जसको अर्थतन्त्र पनि साउदी अरेबियाजत्रो छ । स्विट्जरल्याण्ड या बेल्जियमजस्ता देशको भन्दा ठूलो अर्थतन्त्र न्युयोर्क सिटीको छ ।
यो विश्वकै फाइनान्सियल हब हो । अमेरिकाको आर्थिक राजधानी वालस्ट्रीट यहीँ छ । विश्वका दुई ठूला स्टक एक्सचेन्ज यहीँ छन् । सयभन्दा बढी बिलियनेयर यहीँ छन् । जेपी मोर्गन, गोल्डम्यानस्याक, सिटी ग्रुप, मोर्गन स्टान्लीजस्ता विशाल ब्याङ्कका हेडक्वार्टर यहीँ छन् । प्रविधि होस् कि जनस्वास्थ्य, पर्यटन होस् कि सर्भिस, न्युयोर्क धेरै ठूलो र अगाडि छ ।
मेयरका रूपमा उनले आवश्यकता अनुसार उपमेयरदेखि अन्य राजनैतिक नियुक्ति गर्न पाउँछन् । आफूलाई सहज हुने टीम बनाउने हक उनलाई हुन्छ । सफलता र असफलताको जिम्मेदारी र जवाफदेहीता पनि उनकै हुन्छ ।
न्युयोर्कमा ८०० जति भाषा बोलिने तथ्याङ्क रहेछ जसले गर्दा यो विश्वकै बढी भाषा बोलिने शहरमध्ये पर्छ । यहाँ दक्षिण अमेरिकी, चाइनिज, भारतीय, रसियन, अफ्रिकन, बङ्गलादेशी र नेपालीसम्मको बाक्लो बसोबास छ । यस्तै अर्को बहुसांस्कृतिक र वैश्विक शहर लण्डन पनि हो । टोरन्टो, पेरिस र सिड्नी पनि यस्तै छन् । वाशिङ्टन डीसी राजधानी बन्नुअघि यो अमेरिकाको राजधानी पनि थियो । पहिलो राष्ट्रपति जर्ज वाशिङ्टनले यहीँ शपथ खाएका रहेछन् ।
विश्वको अर्को शक्तिशाली शहर लण्डनमा पनि लामो समयदेखि पाकिस्तानी मूलका सादिक खान मेयरका रूपमा कार्यरत छन् । मुश्लिम भएकै कारण डोनाल्ड ट्रम्पको तारोमा पर्ने गरेका सादिक खानबाट अब ट्रम्पको ध्यान ममदानीमा केन्द्रित हुन सक्छ । न्युयोर्क मेयर निर्वाचित ममदानी भारतीय मूलका अभिभावकबाट युगाण्डामा जन्मिएका हुन् । उनी प्रसिद्ध फिल्ममेकर मीरा नायरका छोरा हुन् । डेमोक्रेटिक पार्टीका उनी समाजवादी विचारधाराका नजिक छन् र भुइँमान्छेको विषयमा बोल्छन् । राष्ट्रपति ट्रम्पसँग पैँठेजोरी खेल्दै कार्यकाल पूरा गर्न सजिलो पक्कै छैन । त्यसै पनि राष्ट्रपतिपछि दोस्रो महत्वपूर्ण र कठीन जब भनेर न्युयोर्क मेयरलाई लिइन्छ । उनले बोलेजस्तै काम पनि गर्न सकून् । उनलाई बधाई !
