काठमाडौं । नेपाल स्काउटले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अल्टिमेटम दिएको छ ।
स्काउटले बिहीबार सार्वजनिक सूचना जारी गरी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बक्यौता बुझाउन अल्टिमेटम दिएको हो । भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख छ ।
उसले अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी दिएको छ ।
सूचनामा भनिएको छ, ‘उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम र मुलकको देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ ।’

