भोजपुर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिकमा उत्साहजनक सहभागिता देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख केशवकुमार शङ्खरका अनुसार, कार्यालयमा दैनिक ५० देखि ६० जना मतदाताले नामावली दर्ता गराइरहेका छन् । सेवाग्राहीको चाप बढ्दै गएपछि कार्यालयले सेवा समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विस्तार गरेको छ ।
शङ्खरका अनुसार, सेवाग्राहीको चाप बढे पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा केही कठिनाइ भएको छ । कार्यालयमा हाल छ जनाको दरबन्दीमध्ये चार जना मात्र कार्यरत छन् भने कम्प्युटर अपरेटरको पद रिक्त रहँदा झनै समस्या भएको कार्यालयको भनाइ छ ।
कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्रका साथ व्यक्तिगत रूपमा उपस्थित भई नामावली दर्ता गर्न सकिने जनाएको छ । साथै, सङ्कलनको क्रममा विगतका नामावलीमा भएका त्रुटि सच्याउने, नामावली ठाउँ सार्ने लगायतका कामहरू पनि भइरहेको छ । ठुला चाडपर्व सकिएकाले अब सेवाग्राहीको चाप अझ बढ्ने अनुमान गरिएको छ ।