काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका– ९ मा रहेको यलुङरि गो हिमाल (५६३० मि) आरोहणका लागि कार्तिक ११ गते विदेशी र नेपाली नागरिक, सहित १२ जनाको टोली गएकोमा हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ ।
हिमपहिरोमा परी पाँच विदेशी र दुई नेपालीको मृत्यु भएको तथा अन्य ५ घाइते भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
उनीहरुको उद्धारका लागि सोमबार साँझ तीन वटै सुरक्षा निकायको संयुक्त फौज घटनास्थल तर्फ खटिएको उनले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी ) लामाबगर, नेपाली सेना र नेपाल प्रहरीको गरी ५० जनाको संयुक्त सुरक्षा फौज घटनास्थलतर्फ परिचालन भएको छ । दोलखाको यलुङ रि क्षेत्रमा सोमबार उनीहरु हिमपहिरोमा परेका थिए ।
