हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् ।
गत २४ भदौको राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए ।
यस्तै, भीमफेदी कारागारबाट फरार विदेशीसहित ४४० कैदीबन्दीमध्ये हालसम्म २८६ जना कैदीबन्दी कारागार फर्केका छन् भने १५४ जना कैदीबन्दी अझै फर्किन बाँकी रहेका छन् ।
कारागार प्रमुख पौडेलका अनुसार अन्य कारागारबाट फरार भएका ७१ जनासमेत भीमफेदी कारागार फर्किएका छन् । अन्य कारागारका ७१ कैदीबन्दीमध्ये ३५ जनालाई स्थानान्तरण पठाइएको, एक जना थुनामुक्त भएको र ३५ जना कारागारमा रहेको प्रमुख पौडेलले बताए ।
कारागारको तीनवटा गेट फुटाइ पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (क) ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीको क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए ।
कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।
