काठमाडौँ । नेपाली चलचित्र ‘धागो’ को ‘ट्रेलर’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्यगरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ ।
यस्तै, सङ्घर्षका क्रममा सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छभने सन्तानको सपना र इच्छा पूरा गर्न गरिने हरेक मातापिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
विछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ । गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ ।
उदीप राणा थापा निर्देशित यो चलचित्र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ । यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिविम्बित गर्ने निर्देशकले बताए ।
चलचित्रमा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छभने उनीसँगै अभिनेत्री वर्षा राउत, कलाकारमा प्रभात थापा, शुरभी थापा, बुद्धि तामाङ, सुनील थापालगायतले अभियन गरेका छन् ।
चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले गरेको हो । निर्माण टोलीमा उमा थापा, उत्तम थापा र उदीप थापा रहेका छन् । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम घोघले गरेका छन् ।
चलचित्र ‘धागो’ कात्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलमा एकसाथ ‘रिलिज’ हुने तयारीमा छ । नेपालमा यस फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ ।
