आमनिर्वाचनअघि महाधिवेशन गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जान उचित हुन्छः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पार्टी फुट्छ भन्न् कल्पनासमेत नगर्न आग्रह गरेका छन् ।

शनिबार पार्टी मुख्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले फरक मत र विचारकै कारण पार्टी नफुट्ने बताएका हुन् ।

उनले भने, ‘जति छलफल भएर निष्कर्षमा पुगिन्छ नि, जस्तो मोही पार्न पनि हल्का फिट्दै गर्दा हल्का पिउने मोही बन्छ । तर राम्रोसँग फिटेपछि घिउ पनि राम्रोसँग निक्लिन्छ । नेपाली कांग्रेस पनि पाको, परिपक्क र जिम्मेवार दल हो नि त । त्यसैले छलफल हुनु नराम्रो होइन । त्यसले गर्दा समय लागेको कुरा भन्दा पनि समयोचित निर्णय गर्ने कुराका लागि समय लगाएका हौं । कांग्रेस फुट्छ भनेर कसैले कल्पना नगरे हुन्छ। नेपाली कांग्रेस भित्र फरक फरक मतहरु विगतमा पनि थिए। अहिले पनि छन। भविष्यमा पनि रहन्छन् ।’

उनले मंसिरमा महाधिवेशन गर्नका लागि ढिला हुन लागेकाले पदाधिकारी बैठकमा आफूले महाधिवेशनबारे विभिन्न विकल्पहरू प्रस्तुत गरेको बताए । उनले मंसिरमा नै महाधिवेशन गर्न महामन्त्री गगन थापाले राखेको प्रस्ताव अनुसार जान पनि सकिने बताए ।

उनले भने,’महामन्त्री थापाको प्रस्ताव भने विशेष अधिवेशन दुई वटा तरिकाले गर्ने । एउटा केन्द्रीय समितिले बोलाउने । अर्को महाधिवेशन प्रतिनिधिहरुको ४० प्रतिशत मतको आधारमा गर्ने । त्यो पनि नभए पुसको १६, १७, १८, १९ विपी कोइरालाले मेलमिलापको नीति लिएर आएको जुन समय हो। जुन दिन हो। त्यही ऐतिहासिक दिनको दिन गरौं ।’

उनले पार्टीको १५औँ महाधिवेशन आमनिर्वाचनअघि गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जान उचित हुने बताए । उनले आइतबारदेखि बैठक बस्ने कुरामा सहमतिपूर्वक प्रस्ताव लिएर जानुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *