-डा. युवराज संग्रौला ।
मूर्ख र अल्छीहरु यात्रामा सजिलो बाटो खोज्छन् । बुद्धिमानीहरु आफ्ना पाउ/कदम दह्रो कसरी पार्ने भनेर सोच्छन् । यो पुरानो कहावत हो हाम्रो । देशले नबुझेको यही हो । देशलाई अधिल्ला राजनीतिका माहरथीहरुले बुझाउन नसकेको पनि यही हो । नेपाली मनस्थितिमा एउटा ट्युमर छ, त्यसले ‘मैले पनि सुखसँग गरिखान पाउनुपर्छ भन्ने होइन, मैले मात्र खान पाउनुपर्छ भन्ने ठान्छ।’ यो के रोग हो ? त्यसैले हाम्रो समाजमा ‘कति चोटी प्रधानमन्त्री बन्ने हो भन्ने मात्र राजनीति जान्यो।’
१. समाजले ‘सामूहिकता बुझ्यो भने मात्र राष्ट्र बस्न लायकको एउटा पार्क बन्छ । समाज एउटा बाल्टी हो, जो पानीका बुँदहरुले भरिन्छ।’ हरेक बुँदको आफ्नो अस्तित्व छ, तर समग्र बिना त्यो अस्तित्वहीन हुन्छ।’ तर, सामूहिकता आरिषको रंगले बन्यो भने, त्यो खुट्टा समात्ने भ्यागुताको बथान बन्छ।’
२. समाजको यो दुर्दशालाई चिन्न सकिएन भने, राष्ट्रले आर्थिक विकास गर्दैन। तसर्थ, हामीले नेपालको विकासका बारेमा सोच्दा, हाम्रो दिमागमा बसेको ट्युमरका रुपमा रहेको ‘सानो सामन्त’ लाई निकालेर दसफिट जमिनमुनि गाड्नु आवश्यक छ।
३. अर्थात्, हरेक नेपालीका दिमागमा बसेको ‘व्यक्तिवादी’ अहंकार मार्नु पर्छ । मलाई लागेको थियो, नवयुवा पुस्ताको दिमागमा त्यो ट्युमर छैन, तर होइन रहेछ।’ मलाई पनि लाग्थ्यो, हाम्रो हजुरबुवा पुस्ता अल्टी र मुर्ख थिए। तर अहिले लाग्छ, उनी हरु स्वनिर्भर थिए। उनीहरु गोबर सोर्न र मल डोकोमा बोक्नु घिन लाग्दो काम होइन भन्ने ठान्थे । त्यसैले उनीहरु आफूलाई चाहिने आफैं उत्पादन गर्थे । उनले आफूले नखाइ हामी (बुबा पुस्ता) लाई शिक्षित बनाए । अहिलेका पुस्ता तिनलाई सन्तानका धनी (बेबिबुमर) भन्दै कुहिरेका भाषामा दुत्कार्छन् । तर उनीहरु श्रम गर्नेलाइ घृणा गर्छन् ।
४. त्यसैले, हाम्रो जनसंख्या आज नयाँ लाहुरे र तेल भिसामा हवाईजहाज चढ्ने भयो । विदेशबाट नेपाल आउने जहाज यिनै लाहुरे र तेलभिसावालाले भरिएका हुन्छन् ।
जबसम्म देशमा बसेर देशका लागि ट्युमरका रुपमा रहेको सामन्त बध गरेर श्रमबाट निर्माण गर्ने संस्कृति बनाउन चेतना भर्न सकिन्न, नागरिक सजिलो बाटो खोज्ने मुर्खको जमात हुन्छ । हामीलाई चाहिने त पाउ दह्रो पार्ने र ‘सय किताब पढेर बुद्धिमानी हुने होइन सय रोपनी जमिन खोतल्ने नागरिक चाहिएको हो।’ बकम्फुस राजनीति गर्नेलाई अब बिदा गर्नुको विकल्प छैन । हामीलाई चाहिएको मान्छे, सबैमिलेर देश बनाउने जुक्ति भएको नागरिक हो। त्यसैले ‘पहिला सामाजिक संरचनालाई बदल्न नागरिक सर्वोच्चता चाहिएको छ।’
विदेशीको पालनपोषण र विदेशी सहायताको दुव्र्यसन रोक्न एउटा बोटमा दश घोगा मकै फलाउने किसान चाहिएको छ । अर्थात्, परिश्रम गर्ने नागरिक देशको आजको आवश्यकता हो । अतः नेता जन्माउने राजनीति होइन मकै धान र गाईवस्तु पाल्ने विज्ञ जन्माउने राजनीति चाहिएको छ ।
