ओलीको आह्वान स्वागतयोग्य भन्दै योगेशले अघि सारे एकताका आधार

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएकाहरुलाई पार्टीमा फर्किन गरेको आह्वान स्वागतयोग्य भएको बताएका छन् ।

शनिबार बिहान सामाजिक संजालमार्फत भट्टराईले अध्यक्षले गरेको आह्वान स्वागतयोग्य र सान्दर्भिक भएको बताएका हुन् ।

उनले जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाईमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ । जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाईमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो । जवजको सिद्धान्त “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा” बिश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो । निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ ।’

भट्टराईले एकताका लागि चार आधार प्रस्तुत गरेका छन् ।

एकताको आधार

–जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
–पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
–२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गंभीर र बस्तुनिष्ठ समिक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
–नेकपा एमालेको नेतृत्वमा आर्थिक/सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णयपछि शुक्रबार साँझ विज्ञप्ति जारी गरी पार्टी छाडेर गएका नेता कार्यकर्तालाई एमालेमा फर्किन आह्वान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *