बैंकक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको सत्तारूढ फेउ थाई पार्टी ले शुक्रबार नयाँ नेतृत्व चयन गरेको छ ।
पार्टीले आफ्नी नेत्री तथा पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामापछि पूर्व उप–अर्थमन्त्री जुलापुन अमोर्नभिवाटलाई नयाँ पार्टी प्रमुखका रूपमा चयन गरेको घोषणा गरेको हो ।
अगस्ट महिनामा कम्बोडियासँगको सीमा विवादसम्बन्धी ‘नैतिक उल्लङ्घन’ को आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएपछि पेटोङटार्नले गत हप्तामात्रै पार्टी नेतृत्व छोड्ने घोषणा गरेकी थिइन् । ३९ वर्षीया पेटोङटार्न पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार उनको राजीनामालाई पार्टीले सम्भावित कानूनी विवाद र न्यायिक चुनौतीबाट जोगिने रणनीतिक निर्णयका रूपमा लिएको देखिन्छ । यस घटनाले थाइल्यान्डमा सिनावात्रा परिवारको लामो राजनीतिक प्रभाव क्रमशः कमजोर हुँदै गएको सङ्केत गरेको पनि तर्क गरिएको छ ।
फेउ थाई पार्टीको आधिकारिक फेसबुक पृष्ठमा प्रत्यक्ष प्रसारण गरिएको मतदानपछि ५० वर्षीय जुलापुन अमोर्नभिवाट नयाँ पार्टी प्रमुख निर्वाचित भएको घोषणा गरिएको थियो ।
उत्तरी चियाङ माई प्रान्तका सांसदसमेत रहेका जुलापुनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “पार्टीको नेतृत्व गर्ने अवसर पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दछु । यो जिम्मेवारी दिनुभएकोमा सबै सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”
जुलापुन थाइल्यान्डका अनुभवी राजनीतिज्ञ सोमपोङ अमोर्नभिवाटका छोरा हुन् । उनले २०१९ मा उपप्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । उनी फेउ थाईको अघिल्लो कार्यकालमा समेत पार्टी नेतृत्वको जिम्मेवारीमा रहेका थिए ।
सन् २०२३ को आम निर्वाचनअघि जुलापुन पार्टीका प्रमुख नीति–नियोजकहरूमध्ये एक थिए । उनले नागरिकलाई १० हजारबाट (झन्डै ३०० अमेरिकी डलर) नगद प्रोत्साहन र क्यासिनो सञ्चालनलाई वैधता दिने प्रस्तावहरू अघि सारेका थिए, जसले मतदातामाझ पार्टीलाई लोकप्रिय बनाएको थियो ।
तर, राजनीतिक विश्लेषकहरूका अनुसार फेउ थाई पार्टीको नेतृत्व जोसुकैले सम्हाले पनि वास्तविक शक्ति र प्रभाव अझै पनि पार्टीका संस्थापक थाक्सिन सिनावात्रा र उनको राजनीतिक परिवारकै वरिपरि केन्द्रित रहनेछ ।
