काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज हुने खेलमा नेपाल र अमेरिका भिड्दैछन् । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरू हुनेछ ।
यसअघिको दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले पराजित हुँदै सिरिजको शुरुवात गरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युएईलाई ५ विकेटले नतिजा सुम्पिएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्दै पहिलो खेलमा भोगेको हारेको बदला लिने अवसर रहेको छ ।
यता अमेरिका भने जारी लिगमा उत्कृष्ट लय रहेको छ । सिरिजको शुरुवाती दुवै खेलमा विजयी भएको अमेरिका आजपनि सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । हाल अमेरिका २२ खेलबाट ३२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने १८ खेलबाट १२ अंक जोडेको नेपाल सातौँ स्थानमा रहेको छ ।
दुई टोलीबीच भएको १० भेटमा अमेरिकाले ५ खेल जित्दा नेपालले ४ खेल जितेको छ । बाँकी एक खेल भने बराबरीमा सकिएको छ । पछिल्लो ५ खेलमापनि अमेरिका नेपालमाथि हाबी बनेको छ । जसमा अमेरिकाले चार खेल जित्दा नेपालले एक खेलमात्र आफ्नो पक्षमा पार्न सकेको छ ।
