काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दलका शीर्ष नेतासँग भेट्न आफूलाई मन नभएको बताएकी छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न संचारमाध्यमका सम्पादहरुसँगको छलफलमा प्रधानमन्त्री कार्कीले आफूलाई दलका शीर्ष नेतासँग भेट्न मन भएको र जेनजीहरुको पनि अंकुश रहेको बताएकी हुन् । शीर्ष नेताले भेट्न चाहेमा स्वागत नै गर्ने उनले बताइन् ।
उनीहरूलाई भेट्न जेनजीहरुबाट अवरोध रहेको भने उनले स्वीकार गरेकी छन् । उनले शीर्ष नेताले चुनावअघि नै आफैँ दलको नेतृत्वबाट बहिर्गमन हुनु राम्रो हुने बताइन् । प्रधानमन्त्रीले आन्दोलनमा युवाको माग के थियो भन्ने नेतृत्वले बुझ्नुपर्ने र दलहरूभित्र पनि नेतृत्व परिवर्तन हुनुपर्ने बताइन् ।
प्रधानमन्त्रीले काम गर्दै जाँदा पछिल्लो डेढ महिनामा जेनजी युवा राजनीतिक रूपले परिपक्व बन्दै गएको बताइन् । उनले भनिन्, ‘सुरू सुरूमा मैले कुरा गर्दा एकदमै साना साना बच्चा जस्ता थिए। उनीहरूका दुई–चारवटा माग मात्र सुनिन्थ्यो। अहिले खारिँदै गएका छन् । यसबाट उनीहरू राजनीतिक रूपले पहिलेभन्दा निकै खारिएको मैले अनुभव गरेकी छु।’
प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईंले जस्तो व्यवहार गरे सरकार त्यहीअनुसार अघि बढ्ने बताइन् । उनले भनिन्, ‘उहाँले राजनीतिक दल नै बनाए हुन्छ । दल बनाएर जित हासिल गरेमा राजा ल्याउन पनि सक्नुहुन्छ । हिंसा भड्काउन खोजेमा कानुन आकर्षित हुन्छ । त्रासको वातावरण सिर्जना गरे सरकारले आफ्नो काम अघि बढाउँछ ।’
उनले राजदूतहरुकै कर्मका कारण फिर्ता गर्नुपरेको बताइन् । यो सरकार दुई चार दिनको सरकार हो भनेर माहोल बनाउने काम गरेको पाइएपछि उनीहरुलाई हटाएको उनले बताइन् ।
उनले सम्पादकहरुसँगको भेटले सरकारलाई सुशासन र निर्वाचनका दिशामा अघि बढ्न थप ऊर्जा र उत्साह
मिलेको बताइन् ।

 
				 
										 
										 
										