काठमाडौँ ।दोस्रो नेपालगन्ज नेसनल स्विमिङ च्याम्पियनसिप २०२५ शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले गरेका हुन् । उद्घाटन समारोहमा मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकार खेलकुदको विकास र पूर्वाधार विस्तारमा प्रतिबद्ध रहेको बताए ।
उद्घाटन खेलमा ५० मिटर ब्याकस्ट्रोक अन्डर–८ ब्वाइज इभेन्टमा सगरमाथा स्विमिङ क्लब ललितपुरका राजविन जिरेलले पहिलो स्थान हात पारे भने आदर्श माध्यमिक विद्यालय नेपालगन्जका युभान श्रेष्ठ दोस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो भएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए ।
त्यसैगरी २५ मिटर फ्रिस्टाइल अन्डर–८ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल पुनः पहिलो, शिखा एकेडेमी कोहलपुरका दिप्सन पुन मगर दोस्रो र आदर्श माविका युभान श्रेष्ठ तेस्रो बने।
अन्डर–८ गर्ल्स समूहमा २५ मिटर फ्रिस्टाइलमा सगरमाथा क्लबकी छियाना महर्जनले स्वर्ण जितिन् भने आदर्श माविकी समृद्धि न्यौपाने र शिखा एकेडेमीकी श्रीजा रेग्मी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहिन् । २५ मिटर ब्याकस्ट्रोकमा पनि छियाना महर्जनले नै पुनः पहिलो स्थान हात पारिन् । विजेता खेलाडीलाई मन्त्री पाण्डेले पदक तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा देशभरका १५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् । प्रतिस्पर्धा अन्डर–८, १०, १२, १४, १७ र खुला उमेर समूह गरी विभिन्न ५६ वटा इभेन्टमा सञ्चालन भइरहेको छ । अन्डर–८ खेलाडीहरूले २५ मिटर, अन्डर–१० समूहका खेलाडीहरूले ५० मिटर र अन्डर–१२ तथा १४ समूहका खेलाडीले ५० र १०० मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन् । खुला समूहका प्रतिस्पर्धा २०० र ४०० मिटर दुरीका इभेन्टमा हुनेछ ।

 
				 
										 
										 
										