पार्टी छोडेर गएका सबै नेता कार्यकर्ताहरूलाई एमालेमै फर्किन ओलीको अपील

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर गएका सबै नेता कार्यकर्ताहरूलाई एमालेमै फर्किन आह्वान गरेका छन् । शुक्रबार साँझ सामाजिक संजालमार्फत अध्यक्ष ओलीले सबैले काँधमा काँध मिलाएर अघि बढ्न अपील गरेका हुन् ।

उनले भनेका छन्, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो । फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं । देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं ।’

ओलीको अपील

दिदीबहिनी तथा दाजुभाइहरू,

कमरेडहरू !

निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) ले सधैँ अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो । अनेकौँ प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो । देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्‍यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौँ उदाहरण छन् ।

एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो । यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन् । कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।

आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ । यस्तो बेला हामी मौन रहन सक्दैनौँ । राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।

त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —

जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् ।

यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।

फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौंँ— देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौँ, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ ।

हामी एउटै परिवार हौँ —

हाम्रो लक्ष्य स्पष्ट छ — समृद्ध नेपाल, सुखी नेपाली।

म सबैमा आह्वान गर्न चाहन्छु – कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा —हाम्रो साझा सपना साकार पार्न ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *