काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौं महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं–१५ भगवापाउँ जर्मन क्वार्टर बस्ने २५ वर्षीय राजन देउला, भारत मोतिहारी सीतामढी घर भइ हाल काठमाडौं–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय अकबर खान, काठमाडौं–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य तथा काठमाडौं–३१ बानेश्वर घर भइ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ परेका मध्ये गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, देउला, खान र शाक्य हतियार खरिद तथा बिक्री वितरणमा संलग्न तथा प्रभात मल्ल हतियार खरिदमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
उनीहरू सबैविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ । लुटिएको पेस्तोल र गोलीको स्रोत, बिक्री सञ्जाल र संलग्न अन्य व्यक्तिहरूको खोजी अघि बढाइएको उनले बताए ।

 
				 
										 
										 
										