काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित ब्याट्सम्यान फाफ डुप्लेसिस दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) खेल्न नेपाल आउने भएका छन् । फ्रेन्चाइज टोली विराटनगर किंग्सले शुक्रबार सामाजिक सञ्जालमार्फत डुप्लेसिसलाई अनुबन्ध गरेको जनाएको हो ।
४१ वर्षीय डुप्लेसिस विश्व क्रिकेटका अनुभवी खेलाडी हुन् । सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका डुप्लेसिसले ६९ टेस्टमा १० सतक र २१ अर्धसतकसहित ४ हजार एक सय ६३ रन बनाउँदा १ स ४३ एकदिवसीयमा ५ हजार ५ सय ७ रन बनाएका छन् । त्यसक्रममा उनले १२ सतक र ३५ अर्धसतक प्रहार गरेका छन् । यस्तै टी-२० आईमा उनले ४ सय २४ खेल खेल्दै ८ सतक र ८३ अर्धसतकसहित ११ हजार ९ सय ६ रन बनाएका छन् ।
सन् २०२१ देखि राष्ट्रिय टोलीबाट नखेलेका डुप्लेसिसले विश्वको चर्चित फ्रेन्चाइज लिग भने खेलिरहेका छन् । इन्डियन प्रिमियर लिगमा ४ टोलीबाट खेलिसकेका उनले १ सय ५४ खेलमा ४ हजार ७ सय ७३ रन बनाएका छन् । यस्तै उनले मेजर क्रिकेट लिग, क्यारेबियन प्रिमियर लिग, बिग बास, मेन्स ११, बंगलादेश प्रिमियर लिग जस्ता चर्चित लिग खेलिसकेका छन् ।
यसअघि विराटनगरले स्टकल्यान्डको ओपनर ब्याटर जर्ज मुन्से र अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरिसकेको छ । विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने रहेका छन् ।
एनपीएल मङ्सिर १ गतेदेखि किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुरू हुँदैछ ।

 
				 
										 
										 
										