काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कुनै ढंगले थुनामुक्त गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’लाई सम्बोधन गर्दै भट्टराईले लामिछाने बाहिर आएरै मुद्दा खेप्दा न्यायपूर्ण हुन्छ भन्ने आफूलाई लागेको बताएका हुन् ।
उनले लामिछानेलाई अन्याय भयो कि भन्ने लागेर आफूले पनि हस्ताक्षर गरेको बताए । उनले भने, ‘रविजीलाई पनि कारागारबाट निकालौँ कुनै तरिकाले । उहाँको नेतृत्वको हामीलाई आवश्यकता छ । बाहिर रहँदा उहाँमा जुन क्षमता, प्रतिभा छ, त्यसको प्रयोग पनि हुन पाउँथ्यो भन्ने मलाई लागेको छ। त्यसैले उहाँको मुद्दामा बाहिर रहेर फेस गर्ने वातावरण बन्न सक्दा राम्रो हुन्छ ।’
भट्टराईले अहिले पनि नयाँ शक्तिहरु एकजुट हुनुपर्ने बताए । एक जुट हुन नसेकेमा ठूला दलले अरुलाई माथि उठ्न नदिने बताए । उनले नेपाली कांग्रेस र कम्युनिष्ट भनिएका दलको तलसम्म दह्रो जरा रहेको बताए ।
उनले भने, ‘कांग्रेस र कम्युनिष्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्छ ।’ उनले अहिलेको समस्याको निकासको लागि निर्वाचनमा जानुको विकल्प नभएको पनि बताए।

 
				 
										 
										 
										