काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।
शुक्रबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले यसविरुद्ध कात्तिक १२ गते रिट दायर गरेका थिए ।
रिटमा ओली र लेखकलगायतमाथि गैरकानूनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानूनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेशको माग गरिएको थियो । तर सर्वोच्चले अन्तरिम आदेश भने जारी गर्न अस्वीकार गरेको छ ।
गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न दिएको सिफारिस बमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।
आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो ।

 
				 
										 
										 
										