काठमाडौं । भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि लागू गरिएको ‘६ बुँदे मापदण्ड’ खारेज गरिएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी अध्यागमन विभागले अबदेखि नेपाली नागरिकले भिजिट भिसामा विदेश जानका लागि केवल चार प्रकारका कागजात पेस गरे पुग्ने जानकारी दिएको हो ।
गृहमन्त्रीको निर्णयअनुसार पुराना मापदण्ड र परिपत्रहरू खारेज गर्दै नयाँ प्रस्थान प्रक्रिया आजैदेखि लागू गरेको हो ।
नयाँ व्यवस्थाअनुसार विदेश जाने नेपाली नागरिकले कम्तीमा ६ महिना वैधता भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन अराइभल भिसा पाइने मुलुकका हकमा त्यस्तो भिसा आवश्यक नहुने, गन्तव्यसम्मको हवाई टिकट र भ्रमण प्रयोजन र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी आफूले लिने उल्लेख भएको स्वघोषणा कागजातहरू पेस गर्नुपर्नेछ ।
यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो ।
विभागले भनेको छ, ‘यो व्यवस्था आजैका मितिदेखि कार्यान्वयनमा आउने भएकाले सबै नेपाली नागरिकहरूले कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राबारे पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरिन्छ ।’
अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ (२)(ख) अन्तर्गत संशोधनमार्फत १० पुस २०८० देखि लागू गरिएको ६ बुँदे मापदण्डले भिजिट भिसामा विदेश जान चाहने नागरिकका लागि धेरै कागजात र प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको थियो ।
तर, उक्त मापदण्डले यात्रुहरूलाई हैरानी, अनियमितता र दुव्र्यवहारको सिकार बनाएको गुनासो बढेपछि गृह मन्त्रालयले पुनरावलोकनका लागि उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो ।
समितिले अध्यागमन प्रणालीमा सुशासन, व्यावसायिकता र नागरिकको मौलिक हक सुनिश्चित गर्न मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको थियो । विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई पनि यो जानकारी सबै नागरिकसम्म पुर्याउन आग्रह गरेको छ ।

 
				 
										 
										 
										