माओवादीसँग एकता गर्ने विषयले एकीकृत समाजवादीमा विवाद, एकता ‘अभियुक्तहरू’सँगको एकता हुने जिकिर

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयलाई लिएर नेकपा एकीकृत समाजवादी विवाद बढेको छ । जारी केन्द्रीय कमिटी बैठकमा महासचिव घनश्याम भूसाल र सम्मानित नेता झलनाथ खनाल एकताको विपक्षमा उभिएका छन् ।

उनीहरुले माओवादीसँग एकता गरे आफूहरु नजाने चेतावनीसमेत दिइसकेका छन् । उनीहरुले अध्यक्ष माधव नेपाललाई अध्यक्ष छाड्न सुझाव समेत दिएका छन् । एकीकृत समाजवादीका अन्य नेताले भने सामाजिक संजालमार्फत माओवादीसँग एकता नगर्न नेतृत्वलाई चेतावनी दिन थालेका छन् । नेतृ रामकुमारी झाँकी, प्रचार विभाग उपप्रमुख दामोदर अर्याललगायतले सामाजिक संजालमार्फत माओवादीसँग एकता नगर्न खबरदारी गरेका छन् ।

अर्यालले माओवादीसँग एकता गर्नु भनेको अभियुक्तसँगको एकता हुने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्ड सम्पत्ति शुद्धीकरण छानबिनमा पर्नुभएको छ । उपाध्यक्ष पासाङ्ग सुन तस्करी छानबिनमा हुनुहुन्छ । अर्का उपाध्यक्ष महरा सुन तस्करी आरोपमा जेलमा हुनुहुन्छ । प्रवक्ता अग्निजी ज्यान मुद्दामा तारेख खेपिरहनु भएको छ । त्यसकारण यतिखेर माओवादीसँग एकता गर्नु भनेको वाम एकता होइन, अभियुक्त एकता हुन्छ । तसर्थ अभियुक्त एकताको विरोध गरौ ! वास्तविक वाम एकताको पहल थालौं ।’

त्यस्तै नेतृ झाँक्रीले पनि पार्टी अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेकोप्रति असन्तुष्टि जनाएकी छन् । उनले भनेकी छन्, ‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ । इतिहासको बास्तविकता यस्तै छ । मान्छे नै थपेर बहुमत पुर्याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *