बीबीसी । बेलायतका राजाका भाइ एन्ड्रुको ‘राजकुमार’ उपाधि खोसिएको छ । उनलाई विन्डसरस्थित रोयल लज खाली गर्न आदेश दिइएको छ । अपराधी ठहरिएका जेफ्री एप्सटिनसँगको सम्बन्धबारे तीव्र आलोचना बढेपछि बकिङ्घम दरबारले बिहीबार राति यस्तो निर्णय गरेको हो ।
दरबारले जारी गरेको विज्ञप्तिअनुसार अब उनी ‘एन्ड्रु माउन्टब्याटन विन्डसर’ नामले चिनिनेछन् । यसअघि यो महिना उनले ‘ड्युक अफ योर्क’ लगायतका अन्य शाही उपाधि त्यागेका थिए।
भर्जिनिया जिउफ्रेको यसै महिनामा प्रकाशित मृत्युपश्चात् आत्मकथामा उनले किशोरी अवस्थामा एन्ड्रुसँग तीनपटक यौन सम्बन्ध भएको दाबी गरेकी थिइन्। एन्ड्रुले भने यी आरोप अस्वीकार गर्दै आएका छन् ।
घटनाक्रमपछि जिउफ्रे परिवारले विज्ञप्ति जारी गर्दै भन्यो, ‘उनले आफ्नो सत्य र अद्भुत साहसका माध्यमबाट एक ब्रिटिश राजकुमारलाई ढालेकी हुन्।’
जिउफ्रेको यस वर्षको सुरुवातमा निधन भएको थियो। राजदरबारका अनुसार राजाले एन्ड्रुका सबै शैली, उपाधि र सम्मान औपचारिक रूपमा हटाउने प्रक्रिया सुरु गरेका छन् । साथै रोयल लजको पट्टा पनि फिर्ता लिइएको दरबारले जनाएको छ।
एन्ड्रुलाई स्यान्ड्रिङ्घम इस्टेटस्थित निजी आवासमा सारिने तयारी गरिएको छ, जसको खर्च राजा चाल्र्सले व्यक्तिगत रूपमा व्यहोर्ने जनाइएको छ ।
‘उनीमाथिका आरोप अस्वीकार भइरहे पनि यी कारबाही आवश्यक ठहरिएका छन्,’ दरबारको विज्ञप्तिमा उल्लेख छ। दरबारले कुनै पनि प्रकारका दुव्र्यवहारका पीडितप्रति आफ्नो समर्थन पुनः व्यक्त गरेको जनाएको छ।

 
				 
										 
										 
										