१७ बालबालिकासहित १९ जनालाई बन्धक बनाउने युट्युबरको प्रहरी इन्काउन्टरमा मृत्यु

मुम्बई । मुम्बईको पवई इलाकास्थित एक स्टुडियोमा बालबालिकालाई बन्धक बनाउने युट्युबर प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।

बिहीबार दिउँसो स्थानीय समयअनुसार २ बजे युट्युबर रोहित आर्याले १७ बालबालिका, एक ज्येष्ठ नागरिक र एक व्यक्तिसहित १९ जनालाई बन्धक बनाएका थिए । प्रहरी र विशेष कमान्डोको टोलीले एक घण्टा लामो अपरेसनपछि सबै बन्धकलाई सुरक्षित उद्धार गरेको थियो । गोली लागेर घाइते भएका आरोपीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार घटनास्थलबाट एक एयर गन र केही रसायन पनि बरामद भएको छ । यद्यपि, आरोपी रोहितले बन्धक बनाउनुको उद्देश्य अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले आरोपी मानसिक रूपमा अस्थिर देखिएको बताएको छ ।

प्रहरीका अनुसार आरोपीले अडिसनका लागि १०० भन्दा बढी बालबालिकालाई स्टुडियोमा बोलाएका थिए । रा नाम गरेको उक्त स्टुडियोको पहिलो तल्लामा अभिनय कक्षाहरू सञ्चालन हुँदै आएका थिए, जहाँ बालबालिकाहरूलाई बन्धक बनाइएको थियो ।

घटना क्रममा बालबालिकाहरू स्टुडियोका झ्यालहरूबाट बाहिर हेरिरहेका देखिएको थियो । खबर पाएलगत्तै बालबालिकाका अभिभावकहरू पनि घटनास्थलमा पुगेका थिए ।

आरोपी रोहितको एउटा भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा उनी ’मलाई केही प्रश्न सोध्नु छ’ भनिरहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *