काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा कांग्रेसको भूमिका विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ ।
जारी केन्द्रीय समितिको आजको बैठकमा केही केन्द्रीय सदस्यले अहिले राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनुपर्ने विषयमा समेत जोड दिइएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका थिए ।
बैठकमा समग्रमा देशमा भएको संकटको स्थिति र यसबाट कसरी माथि उठ्ने भन्ने चासो, चिन्ता प्रकट भएको उनको भनाइ छ ।
उनका अनुसार बैठकमा सरकारले प्रस्ताव गरेको निर्वाचनका लागि शान्ति, सुरक्षाको प्रत्याभूति हुन नसकेको तर यसलाई उपयोग गरेर सुरक्षाको स्थिती निर्माण होस् भन्ने धारणा नेताहरुले राखेका छन् ।
बिहीबारको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामा तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यँदेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरु इन्द्रबहादुर बाँनिया (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आ–आफ्नो धारणा राखेका छन् ।

 
				 
										 
										 
										