इस्लामाबाद । पाकिस्तान र अफगानिस्तानबीचको शान्ति वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ ।
अघिल्लो चरणको वार्ता असफल भएको सरकारी घोषणा पछि पाकिस्तानी सुरक्षा स्रोतले बिहीबार दुवै देशले आगामी चरणको छलफल इस्तानबुलमा गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि दुई दक्षिण एसियाली छिमेकीबीच भएको सबैभन्दा घातक झडपपछि कतार र टर्कीको मध्यस्थतामा शान्ति वार्ताको प्रक्रिया अघि बढाइएको थियो । अक्टोबर ९ मा काबुलमा भएको भीषण विस्फोटपछि बढेको हिंसामा ७० जनाभन्दा बढीको मृत्यु र सयौँ घाइते भएका थि । यसको जिम्मेवारीबारे अफगान अधिकारीहरूले पाकिस्तानमाथि आरोप लगाएका थिए ।
पछिल्लो वार्ता गत साताको शनिबारदेखि इस्तानबुलमा सुरु भए पनि बुधबार पाकिस्तानले सो वार्ता ‘असफल’ भएको औपचारिक घोषणा गरेको थियो । तथापि, पाकिस्तानी सुरक्षा स्रोतका अनुसार अफगान तालिबान प्रशासनको अनुरोधमा वार्ताको अर्को चरण फेरि पनि इस्तानबुलमै सञ्चालन गर्ने सम्भावना अझै खुला रहेको छ ।
नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै स्रोतले भन्यो, “अफगान पक्षको आग्रहअनुसार पाकिस्तान वार्तामा सहभागी हुन तयार छ तर आफ्नो मूल राष्ट्रिय सुरक्षाका प्राथमिकताहरूमाथि कुनै सम्झौता गर्नेछैन ।”
यसैबीच, अफगान राज्यद्वारा सञ्चालित प्रसारण संस्था आरटिएले पनि बिहीबार रिपोर्ट गर्दै भनेको छ, “टर्की र कतारको मध्यस्थतामा रोकिएको वार्ता पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।”
दुई हजार ६०० किलोमिटर (एक हजार ६०० माइल) लामो साझा सीमाले जोडिएका पाकिस्तान र अफगानिस्तानबीचका सम्बन्ध पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा तनावग्रस्त बनेका छन् ।
इस्लामाबादले अफगानिस्तानलाई सीमापार आक्रमणमा संलग्न आतङ्कवादी समूहहरूलाई सुरक्षित आश्रय प्रदान गरेको आरोप लगाउँदै आएको छ । इस्लामाबादले विशेषतः तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) नामक समूहमाथि यस्तो आश्रय दिएको आरोप लगाएको छ । यस समूहले अफगान भूमिलाई आफ्नो सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्ने गरेको पाकिस्तानको दाबी छ ।
तर तालिबान सरकारले ती आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ र आफ्नो भूमिबाट कुनै पनि मुलुकविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन हुन नदिने अडान दोहोर्याउँदै आएको छ ।
