काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् ।
पार्टीको १५ औं महाधिवेशनलाई लिएर पार्टीमा पक्ष विपक्षमा बहस भइरहेका बेला महामन्त्री शर्माले चार विकल्प प्रस्तुत गर्दै पुस १६ देखि १९ गेतसम्म नियमित महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
महामन्त्री शर्माले पहिलो विकल्पको रूपमा कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित २७–२९ मंसिरको कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नेछ । शर्माले पेस गरेको दोस्रो विकल्पमा मंसिरभित्रै विशेष महाधिवेशनको प्रस्ताव छ ।
उनले पार्टीको विधानको दफा १७ को उपदफा २ बमोजिम केन्द्रीय समितिले चाहेमा भनेर उल्लेखित दफा बमोजिम बोलाउन प्रस्ताव गरेका हुन् । शर्माले अर्को विकल्पको रूपमा विधानको दफा १७ को उपधारा बमोजिम नै ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले अन्य विकल्पमा सहमति हुन नसके युवाको व्यापक प्रवेशको ढोका खोल्नको लागि विशेषभन्दा नियमित महाधिवेशन उपयुक्त हुने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौँ त्यसका लागि १६ देखि १९ पुष सम्मको मिति उपयुक्त हुन्छ ।’
