सशस्त्र प्रहरीद्वारा अन्नपूर्ण बेशक्याम्पबाट १ सय ६२ पर्यटकको उद्दार

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेश क्याम्पबाट बिहीबार बिहानसम्म १ सय ६२ जनाको उद्दार गरेको छ । अब अन्नपूर्ण बेशक्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् ।

सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्दारका लागि सुरक्षा फौज बेशक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटक सहित बिहीबार बिहानसम्म १ सय ६२ जनाको उद्दार गरेको हो ।

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्दार गरिएको हो । तीन दिनको निरन्तर प्रयासपछि बेशक्याम्प हिँडेका केही पर्यटकलाइ बाटो बाट नै फर्काइएको थियो ।

बुधबार मात्रै बेशक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो । उद्दार गरिएकाहरुलाइ गुफाफाँट , सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *