एजेन्सी । दक्षिण अफ्रिका आईसीसी महिला विश्वकप २०२५ को फाइनलमा पुगको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई १ सय २५ रनले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।
जितको लागि ३ सय २० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४२.३ ओभरमा अलआउट हुँदै १ सय ९४ रनमात्र बनाउन सक्यो । खेलमा एक रन जोड्दा तीन विकेट गुमाएको इंग्ल्याण्डलाई कप्तान नाट स्चिभेर ब्रुन्ट र अलिस काप्सेले उकासेका थिए । स्चिभेर ब्रुन्टले ६४, काप्सीले ५०, डानी व्याट होड्जले ३४ र लिनसे स्मिथले २७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
दक्षिण अफ्रिकाको लागि मारिजान्ने कापले पाँच, नदिने डे क्लेर्कले दुइ तथा अयाबान्गो खाका, नोंकुल्लेको म्लाबा र सुने लुसले समान एक/एक विकेट लिए ।
यसअघि गुवाहाटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय १९ रन बनाएको हो । कप्तान लौरा वोल्भार्डटले सर्वाधिक १ सय ६९ रन बनाइन् । उनले १ सय ४३ बलमा २० चौका र ४ छक्का प्रहार गरिन् । यस्तै ताह्मिन ब्रिट्जले ४५, मारिजान्ने कापले ४२, चलो ट्र्योनले ३३ र नाडिने डे क्लेर्कले ११ रन बनाइन् ।
इंग्ल्याण्डको लागि सोफी एस्लेस्टोनले चार, लौरेन बेलले दुई र नाट स्सिभेर. ब्रुन्टले एक विकेट लिए ।
अब दक्षिण अफ्रिकाले उपाधिको लागि आज भारत र अष्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।
