काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय छलफल भयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दल, जेनजी र सरकारकातर्फबाट आआफ्ना धारणा राख्ने काम भयो । बैठकमा राप्रपाबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहनकुमार श्रेष्ठ सहभागी भएका थिए । बैठकमा राप्रपाले राखेको धारणा प्रवक्ता श्रेष्ठले यसरी प्रस्तुत गरेका छन् ।
यस्तो छ बैठकमा राप्रपाले राखेको धारणा
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरुको संयुक्त बैठक राख्नुभयो । बैठकमा राप्रपाकोतर्फबाट महामन्त्री राजेन्द्र गुरुङ र म सहभागी भयौं । अघिल्लो बालुवाटार बैठक सरकार र राजनीतिक दलको बीच भएको थियो जहाँ राप्रपाको धारणा राखिएकै थियो । जेनजी प्रतिनिधिहरु समेत सहभागी भएको बैठकमा राप्रपाले,
१. यही संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरे बमोजिमको राजनीतिक धारणा सरकार, राजनीतिक दल र जेनजीहरु सम्मिलित बालुवाटार बैठकमा औपचारिक रुपमा प्रवेश गराइएको छ।
२. विद्रोह अधुरो रहँदा पूर्ण विद्रोहको सम्भावना जीवित रहने भएकाले जेनजी विद्रोहमा उठेका राजनीतिक मुद्दाहरु, संविधान संशोधन र सुशासनसंग सम्बन्धित विषयहरुलाई सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखिएको छ।
३. विगतको त्रुटिपूर्ण मार्गचित्रका कारण देशमा आजको अवस्था सिर्जना भएको र यो अवस्थामा सुधार नगरी पुरानो मार्गचित्रकै निरन्तरताले फेरि पनि गलत ठाउँमै पुगिने अवश्यम्भावी छ । इतिहासले दिएको यो अवसरलाई कोर्स करेक्सनको अवसरको रुपमा सदुपयोग गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराइएको छ।
४. प्रधानमन्त्री सुशीला कार्कीलाई इतिहासले दिएको कोर्स करेक्सनको यो अवसरलाई आवश्यक पहलकदमी लिन र इतिहासले सदा सम्मानपूर्वक सम्झने पात्रको रुपमा दर्ज हुन आग्रह गरिएको छ।
५. निर्वाचन जस्तो प्रजातान्त्रिक पद्धतिबाट राप्रपा अलग हुँदैन तर यथास्थितिमा हुने निर्वाचनले समाधान दिदैन भन्ने राप्रपाको व्याख्यात्मक धारणा राखिएको छ।
६. राप्रपाले उठाउँदै आएको राजनीतिक, सामाजिक र सुशासनसंग सम्बन्धित विषयलाई बुँदागत रुपमा राखिएको छ।
७. जेनजीका कतिपय फरक फरक धारणाहरुलाई संश्लेषण गरी जेनजी विद्रोहको स्पिरिटसँग एकरुपता कायम गर्न आग्रह गरिएको छ।
